तीन महिनादेखि बन्द तातोपानी नाका खुल्यो, आयात हुने निर्यात नहुने

फाइलफोटो

काठमाडौं, १९ असोज । तीन महिनादेखि बन्द तातोपानी नाका शुक्रबारबाट सञ्चालनमा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अडकिएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालनमा आएको हो ।

असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।

खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिन्छन् ।

मितेरी पुलबाट तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पिसिआर नेगेभिट रिपोर्ट आएका नेपाली मजदुरले लोड गरी ल्याउनेछन् ।

सामान लोड अनलोड गर्ने चिनियाँ र नेपाली मजदुरको प्रत्येक हप्ता कोभिड १९ परीक्षण भईरहने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्र्याउन नाका खुल्न लागेको हो ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले असोज १९ गतेबाट तातोपानी नाकाबाट दैनिक १६ वटा मालबाहक कन्टेनर नेपालीभूमि तातोपानी भन्सार कार्यालय भित्रिने बताए ।

जसअनुसार नजिकिएको बिजया दशमी अघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्नेछन् । सो कन्टेनर पछि नाका खुल्ने वा नखुल्नेबारे कुनै जानकारी आएको छैन, खत्रीले भने ।

२०७२ सालको बिनाशकारी महाभूकम्पले तातोपानी नाका बन्द भएपछि दश हजारभन्दा बढी ब्यापारी, मजदुरहरु बिस्थापित हुनुपरेको छ ।

०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो ।

कोरोना महामारीको कारण देखाउदैं चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो । नेपालको बिशेष पहलपछि खासामा रोकिएको सामाग्री ल्याउनका लागि नाका खोल्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here