काठमाडौं । चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा गरिएको छ ।
सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिने घोषण गरिएको हो ।
यी वैज्ञानिकहरूको आविष्कारका कारण हेपाटाइटिस सी भाइरसको उपचार सम्भव भएको थियो ।
उनीहरूले हेपाटाइटिस दीर्घरोगका केसहरूको कारण पत्ता लगाएका थिए । त्यसलगत्तै रगतको परीक्षण तथा नयाँ औषधिहरू सम्भव बने र लाखौं जीवन जोगिए ।
रगतमा हुने हेपाटाइटिस संसारकै प्रमुख स्वास्थ्य समस्या हो जसले गर्दा सिरोसिस अर्थात् आन्तरिक रक्तस्राव र कलेजोको क्यान्सर हुन्छ ।
विजेताले स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर पाउने छन्। नोबेल पुरस्कार पाउनेमध्ये हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् ।
उनीहरुले ‘हेपाटाइटिस सी’ लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौं मानिसहरुको जीवन जोगाएको स्विडिस एकेडेमीले बताएको छ ।
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७, साहित्यतर्फ अक्टोबर ८, शान्तिका लागि अक्टोबर ९ र अर्थशास्त्रका लागि अक्टोबर १२ मा विजेता घोषणा गरिनेछ ।