दशैंको लागि नयाँ नोट आफ्नो खाता रहेको बैंकबाटै साट्न पाइने

काठमाडौं, २१ असोज । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासोको विषय बनेको छ । हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठूलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ ।

हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी नबाँड्ने भएको छ । विगतमा राति उज्यालो नहुँदै सर्वसाधारणहरु नयाँ नोट साट्नका लागि राष्ट्र बैंकको कार्यालय अगाडि गएर लाइन लाग्ने गर्दथे ।

यसपटकको दशैंमा नयाँ नोट चाहिएमा आफ्नो खाता रहेको बैंकबाट साट्न पाइने छ । कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।

उनको अनुसार नयाँ नोट केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउनेछ । आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणले लिन सक्नेछन् ।

‘यस पटक हामी लाइन लगाएर नयाँ नोट बाँढ्ने पक्षमा छैनौं । नयाँ नोट चाहिए हामी बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउँछौ । उनीहरुमार्फत सर्वसाधारणले लिन सक्छन् उनले भने ।’

यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।

तर यसपाली भने बढ्दो कोरोना भाइसरको संक्रमणका कारण भिडभाड हुने जस्ता कुनै पनि कार्य नगर्ने सरकारको निर्देशन छ । सो निर्देशनलाई पालना गर्दै लाइन नै लागेर दशै लक्षित नयाँ नोट वितरण हुने नहुनेमा अन्योल नै रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here