भारतीय चामल निर्यातका प्रमुख १० ठूला बजारमध्ये नेपाल चौथो स्थानमा

काठमाडौं, २२ असोज । अत्यावश्यक वस्तुमा नेपालको परनिर्भरता बढेको छ ।

कृषिप्रधान मुलुक भनिने नेपालमा बर्सेनि चामल आयात बढ्दै गएको छ भने अत्यावश्यक वस्तुको लागि विदेशकै भरपर्नु अवस्था रहेको छ ।

नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा नेपालमा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निर्भर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन । जसको कारण नै नेपाल भारतबाट चामल निर्यातका प्रमुख १० ठूला बजारमध्ये नेपाल चौथो स्थानमा रहेको भारतीय वाणिज्य विभागको तथ्यांकले देखाएको छ ।

भारतीय आर्थिक वर्ष सन् २०१९/२० मा भारतले कुल ४ खर्ब ५४ अर्ब २६ करोड रुपैयाँ भारुबराबरको चामल निर्यात गरेकोमा त्यसको करिब ४ प्रतिशत नेपालमा निर्यात भएको छ ।

भारतीय चामलका मुख्य बजारमा साउदी अरब, इरान, इराक, नेपाल, बेनिन, कुबेत, सोमालिया, गुनिया, कोट डे आइभरि र ओमन छन् ।

यद्यपि, भारतीय चामल उत्पादक संघले ‘गैर–बासमती चामल’को मुख्य बजारमध्ये बंगलादेश पनि भएको जनाएको छ । भारतका प्रमुख चामल बजारहरूमध्ये नेपालबाहेक अधिकांश मरुभूमि भएका खाडी मुलुक र अफ्रिकी राष्ट्रहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here