कोरोना महामारीकैबीच विदेशिन ११ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, २६ असोज । विश्व नै कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

कोरोना महामारीकै समयमा रोजगारीको लागि विदेशीने नेपालीको सख्या पनि बढ्दै गएको छ ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

महामारीबीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेको छ ।

गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै बिदेश जान श्रम स्वीकृति लिनेको संख्या बढेको बैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार श्रम स्वीकृति खुला भएयता अहिलेसम्म १० हजार ७ सय ८७ जनाले श्रम स्वीकृति लिइसकेका छन । तीमध्ये ७ सय ६४ जना महिला रहेको बिभागले जनाएको छ ।

विभागका अनुसार पुनः श्रम स्वीकृति लिने करिब १० हजार ६ सय र नयाँ श्रम स्वीकृति लिने झण्डै दुई सय जना रहेका र ५० भन्दा बढी देशमा जानका लागि श्रम स्वीकृति लिएका छन ।

लकडाउनकैबीच गत असारमा दुई हजार ४९४ जनाले र साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै भदौमा एक हजार ५ सय २५ जनाले र असोज २० गतेसम्म ३ हजार ७ सय ८९ जनाले श्रम स्वीकृति लिएको बिभागले जनाएको छ ।

रोजगारीमा श्रम स्वीकृति लिने जाने कुल संख्याको देशगत रूपमा तथ्याङ्क नराखिए पनि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसिया, कुवेत, जापान जानका लागि रहेका छन ।

विभागले असोज महिनादेखि पछिल्लो पटक श्रम स्वीकृति लिनेको तथ्याङ्क देशगत रूपमा राख्ने गरी गृहकार्य अघि बढाएको छ ।

कोरोनाको महामारीलाई लक्षित गर्दै सरकारले गत फागुनको अन्त्य तिरबाट श्रम स्वीकृति दिन स्थगन गरेको थियो । तर, असारदेखि भने त्यो खुल्ला गरिएको छ । श्रम स्वीकृति खुल्ला गरेपछि विदेशीने कामदारको सख्या बढ्दै गएको छ ।

कोरोना महामारीकै बीच दुई महिनामा ५ हजार युवा विदेशिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here