काठमाडौं, २६ असोज । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाको बहिर्गमनसँगै उनले गरेका निर्णय पनि एकपछि अर्को गदै उल्टिँदै गएको छ ।
केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका खतिवडा सरकारबाट बाहिरिएसँगै उनले गरेका निर्णयहरु सरकारले लगातार सच्याएको छ ।
खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो । तर अहिले उनको बर्हिगमनपछि सबैभन्दा बढी आलोचित यो निर्णय मन्त्रिपरिषदको बैठकले उल्ट्याइसकेको छ ।
त्यस्तै सरकारले महँगो गाडी र मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ठूलो मात्रामा पैसा विदेशिने भन्दै चैत २४ देखि मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो ।
विशाल ग्रुपले चैतअघि नै ६ महिनालाई पुग्ने मदिरा आयात गरिसकेको र उसैको प्रलोभनमा परेर तत्कालीन अर्थमन्त्री खतिवडाले आयातमा रोक लगाएको आरोप उनलाई लागेको थियो ।
चर्चित घराना विशाल ग्रुपकै दबाबमा त्यतिबेला अर्थमन्त्री खतिवडाले उक्त निर्णय लिएको स्रोतको दाबी छ ।
मदिरा आयातमा नाम चलेको विशाल ग्रुपको स्टकमा रहेका मदिरा सकिएपछि उसकै दबाबमा सरकारले पछिल्लो निर्णय लिएको अर्थमन्त्रालय स्रोतको भनाई छ। दसैँ तिहार ताका नेपालमा मदिराको माग ह्वात्तै बढ्ने गर्छ।
नेपालले गत आर्थिक वर्षमा ८८ करोड ३५ लाख रूपैयाँ बराबरको ४ लाख ९३ लिटर मदिरा आयात गरेको थियो।आर्थिक वर्ष ०७५/७६ मा भने १ अर्ब १४ करोड रूपैयाँको ६ लाख ३९ हजार लिटर मदिरा आयात भएको थियो। मदिरा आयात राजस्वको गतिलो स्रोत मानिन्छ।
त्यस्तै, सरकारले महँगो मूल्यको सवारीसाधन आयात खुला गर्ने भएको । पूर्व अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फट व्यापार घाटा कम गर्न भन्दै ५० हजार डलर बढी मूल्यका गाडी आयातमा प्रतिबन्ध लगाएका थिए ।
सरकारले महँगो मूल्याका गाडी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेसँगै अब ५० हजार डलरभन्दा माथिका गाडि आयातको बाटो खुलेको छ ।
यससँगै अब विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि ५० हजार डलरभन्दा बढी मूल्यका गाडी खरिद गर्न सक्ने भएका छन् ।
पछिल्लो समय राजश्व अशुली घटेसँगै सरकारलाई दैनिक खर्च धान्न गाह्रो हुँदै गएको छ । त्यसलाई मध्येनजर गर्दै सरकारले आफ्नै निर्णय उल्ट्याउँदै राजश्व अशुली बढ्ने आशामा मदिरा आयात र महँगा गाडी आयात खुला गरेको हो ।
विदेशबाट आयात हुने वस्तुमध्ये महँगा गाडी सबैभन्दा धेरै राजश्व असुली हुने वस्तु हो । सरकारले सावारी आयात गर्दा २५० प्रतिशतसम्म राजश्व अशुल्दै आएको छ ।




















