पशुपतिमा तीन नयाँ शवदाह यन्त्र स्थापना हुँदै, काठमाडौं महानगरले अनुदान दिने

काठमाडौं, २६ असोज । काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सोमबार वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘काठमाडौं महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवद्र्धनसँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छ । अब छिट्टै महानगरपालिकाको करीब रु. १५ करोेडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप तीन वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ,’ उनले भने

केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी गरिने महानगरले बताएको छ ।

‘हामीले दुई–तीन चरणका छलफल सम्पन्न गरिसकेका छौँ,’ शाक्यले भने, ‘अब सम्झौताको चरणमा पुगेका छौँ । काठमाडौँ महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ । त्यसै अनुरुप हामीले पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागेका हौँ ।’

थप तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि काठमाडौं महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

‘हामीले पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि पटक–पटक मेयरज्युसँग छलफल गरेका छौँ । पछिल्लो समय शवको चाप बढिरहेको अवस्थामा थप शवदाह यन्त्र निर्माण गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता थियो । यस्तो बेलामा महानगरपालिकाको सकारात्मक पहलसँगै शवदाहमा सहज हुने अपेक्षा गरेका छौँ,’ उनले भने ।

अहिलेको शवदाह यन्त्र अपर्याप्त भएको र घण्टौँसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाई भएको भन्दै अब केही दिन भित्रमै सम्झौता गरी प्रक्रिया अघि बढाउने जानकारी दिए ।

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौं महानगरपालिकाको ५१ औं कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ ।

यो पनि पढ्नुस्ः

काठमाडौँ महानगरपालिकाकाे ‘मेयर उज्यालो कार्यक्रम’, १५ सय सडक बत्ती थपिने

काठमाडौं महानगरका सबै वडामा अनलाइन राजस्व प्रणाली, ११ दिनमै उठ्यो १ करोड ६० लाख

काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ? (सूचिसहित)

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here