१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाबाट हर्जना लिन नपाउने

काठमाडौं, २७ असोज । विद्युत् नियमन आयोगले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई हाइड्रोलोजी पेनाल्टी (हर्जना) नलगाउन निर्देशन दिएको छ ।

आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिएको विद्युत उत्पादन गर्न नसकेमा पनि हर्जना नलगाउन निर्देशन दिएको हो ।

यसअघि प्राधिकरणले उत्पादन गर्छु भनेर विद्युत प्राधिकरणमा गरिएको रिपोर्टिङ अनुसार विद्युत उत्पादन नभएको खण्डमा उत्पादक कम्पनीलाई हर्जना लगाउदै आएको थियो ।

आयोगले विद्युत् खरिद बिक्री तथा अनुमति प्राप्त कम्पनीले पालना गर्नुपर्ने सर्तसम्बन्धी विनियमावली, २०७६ मा भएको व्यवस्थाको कार्यान्वयन नभएको भन्दै दोस्रोपटक लिखित निर्देशन दिएको हो ।

यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।

कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवद्र्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युत्ले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

त्यस्तै, ११ केभी, ६६ केभी र १३२ केभी प्रसारण लाइनमा जोडिएका आयोजनालाई समान सूत्र प्रयोग गरेर मात्रै प्रसारण नभएको विद्युत ऊर्जाको क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here