जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न राष्ट्रिय व्यावसायिक पहलको आग्रह

काठमाडौं, २७ असोज । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

हालको यस विषम परिस्थितिमा समाज र मुलुकप्रति जिम्मेवार भइ न्युनतम व्यवसायिक आचारसंहिता भित्र रही आफ्नो व्यवसायिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्न गराउन सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई एनबीआईले आग्रह गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको ६ महिनाभन्दा लामो बन्दाबन्दी तथा निषेधाज्ञाका कारण धराशयी भएको सम्पूर्ण आर्थिक तथा व्यावसायिक क्षेत्रले बन्दाबन्दी खुलेपछि विस्तारै गति लिन सुरु गरे पनि सजगता आवश्यक भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

“मानव सभ्यताकै साझा शत्रुको रुपमा स्थापित हुदै गरेको यस महामारीलाई परास्त गर्न समाजको सवै पक्षको उत्तिकै जिम्मेवारी र दायित्व छ । आम उपभोक्तासंग जोडिने व्यवसायिक क्षेत्र अझ बढी संवेदनशी हुन जरुरी छ,” जारी विज्ञप्तीमा भनिएको छ ।

जोखिम न्युनीकरणका निम्ति सरकारले अवलम्वन गरेका विविध उपायहरुको बाबजुद संक्रमणको दर तीव्र गतिमा बढ्दै जाँदा थप सन्त्रास र अन्यौलता सिर्जना हुदै गइरहेको आएबीआईले जनाएको छ ।

“अतः सम्पूर्ण उद्यमी व्यवसायी, आम उपभोक्ता सवैले स्वास्थ्य सुरक्षा सम्वन्धी निर्धारित मापदण्डको पुर्ण पालना गरी सुरक्षित समाज निर्माणका लागि आ-आफनो जिम्मेवारीलाई अगाडि बढाउन राष्ट्रिय व्यवसायिक पहल सरोकारवाला सबैसँग हार्दिक आग्रह गर्दछ ।”

स्वच्छ समाज र समृद्ध मुलुक निर्माणको लागि असल व्यवसायिक अभ्यासको प्रवद्र्धन एवं कार्यान्वयनमा सम्वन्धित सवै पक्षको सहयोग एवं सकारात्मक योगदान रहने विश्वास गरेको पहलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here