काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ ।
मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो ।
तीन मन्त्री र एक सचेतक पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हट्न राजी भएको हो । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन्।
मुख्यमन्त्री एवम् संसदीय दलका नेता शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । मंगलबार माधव नेपाल पक्षबीच भएको सहमति अनुसार शाही सचेतकमा नियुक्त भएका हुन् ।
शाही कालिकोटबाट निर्वाचित हुन् । हिजोमात्रै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर उनको ठाउँमा सीता नेपालीलाई ल्याएका थिए ।
नेपाली पहिले सचेतकको जिम्मेवारीमा थिईन् । पार्टी यद्यपि ओली पक्षीय प्रदेश सदस्यहरुले भने हस्ताक्षर फिर्ता लिन आनाकानी गरिरहेका छन् ।
नेपाल पक्षीय प्रदेश सभा सदस्यहरु भने हस्ताक्षर फिर्ता लिन सहमत भइसकेको एक प्रदेश सदस्यले जानकारी दिए । नेपाल पक्षका सांसदहरु आज असन्तुष्ट पक्षले बोलाएको संसदीय दलको बैठकमा समेत सहभागी भएनन् ।