एन्टिजेन किट प्रयोगबाट कोरोना परीक्षणको अनुमति, शुल्क एक हजारमात्रै

फाइलफोटो

काठमाडौं, २७ असोज । सरकारले परीक्षणको दायरालाई फराकिलो र सहज बनाउने उद्देश्यले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न सकिने स्वीकृति प्रदान गरेको जानकारी दिए।

जसबाट धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो निर्क्योल गर्नुपर्ने अवस्था रहे तथा एकै स्थानमा धेरैजना बसोबास गर्ने स्थान जस्तै ब्यारेक, कारागार तथा वृद्धाश्रम लगायतका स्थानमा एन्टिजेनमा आधारित द्रुत परीक्षण किटबाट परीक्षण गर्न सकिने छ ।

एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ। गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजारमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए।

परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ।

के हो एन्टिजेन किट ?

सामान्य भाषामा भन्नुपर्दा एन्टिजेन परीक्षणमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरीरमा भाइरस सक्रिय रहेको जनाउँछ ।

एन्टिजेनकै प्रतिक्रिया स्वरुप शरीरले एन्टिबडी उत्पादन गर्छ । यो परीक्षण गर्ने प्रक्रिया र पहिला प्रयोग गरिएको एन्टिबडी परीक्षणको प्रविधि लगभग उस्तै नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here