टेलिकमको नाफा १५ प्रतिशतले घट्यो, बढ्दो प्रतिस्पर्धा मुख्य कारण

काठमाडौं, ३१ बैशाख । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको नौ महिनाको तुलनामा १५ प्रतिशतले घटेको हो ।

टेलिकमले मंगलबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीले ९ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा टेलिकमको खुद नाफा ११ अर्ब ८५ करोड रहेको थियो ।

पछिल्लो त्रैमासिकमा कम्पनीले ३ अर्ब ६२ करोड खुद नाफा गरेको छ । जबकी अघिल्लो वर्षको तेस्रो त्रैमासिकमा उसको खुद नाफा ४ अर्ब ३७ करोड रुपैयाँ थियो ।

कम्पनीको समग्र व्यापारमा नै कमी आएकाले खुद नाफामा ठुलो गिरावट आएको कुरा कम्पनीले बताएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा ३२ अर्व ४७ करोड कुल आम्दानी गरेको छ जसमध्ये २७ अर्ब ५० करोड ग्राहकहरुबाट राजश्व उठेको विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ अर्व ८५ करोड बराबरको कुल आम्दानी गरेको थियो जसमा ग्राहकहरुबाट २९ अर्ब ३९ करोड राजश्व उठेको बताइएको छ ।

निजी कम्पनीसँगको प्रतिस्पर्धा मुख्य कारणः प्रवक्ता वैद्य

निजी कम्पनीसँगको प्रतिस्पर्धा बढ्दै गएपछि नेपाल टेलिकमले पनि सस्तो मुल्यमा भ्वाईस प्याक, इन्टरनेट डेटा प्याकेज र अफरहरु दिएको कारण कम्पनीको नाफामा असर परेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

‘एक रुपैया प्रति एमबीको डेटा बढ्दो प्रतिस्पर्धाको कारण हामी ३ पैसा प्रति एमबीमा दिएका छौं यसले व्यापारमा प्रभाव परेको छ,’ उनले भनिन्, ‘त्यसका साथै टेलिकमले तिर्नुपर्ने करमा वृद्धि भएको कारण पनि व्यापार र नाफा दुवै कम भएको छ ।’

पहिले २५ प्रतिशत कर व्यवस्था रहेकोमा हाल ५ प्रतिशत बढ्दै ३० प्रतिशत पुगेको उनले बताइन् ।

उनी भन्छिन्, ‘आजभोली टुइटर, म्यासेन्जर, इमो, भाइबर आदि सामाजिक सञ्जालहरुको प्रयोग धेरै हुने गरेको कारण पनि व्यापारमा कमी आएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here