बुधबारदेखि काठमाडौंमा नेपाल-भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एण्ड कन्क्लेभ, काे काे छन् वक्ता ?

काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले भारतीय राजदूतावास र फ्रेन्चाइज इण्डियाको सहकार्यमा बुधबारदेखि काठमाडौमा नेपाल भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एण्ड कन्क्लेभ को आयोजना गर्ने भएको छ ।

आयोजक एफएनसीसीआईले मंगलबार एक पत्रकार सम्मेलन गरी कन्क्लेभको बारेमा जानकारी दिएको हो ।

काठमाडौंको होटल याक एण्ड यतिमा हुने कन्क्लेभको उद्घाटन जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

कार्यक्रमको पहिलो दिन भोली विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल हुने छ ।

को को छन् त वक्ता ?

पहिलो शत्रको ‘द न्यू रोडम्याप फर बिल्डिङ बिजनेस एण्ड आन्टरप्रेनरसिप इन नेपाल’मा एफएनसीसीआईका उपाध्यक्ष एवं उद्यमी उमेशलाल श्रेष्ठ र फ्रेन्चाइज इण्डियाका सम्पादक रितु मारियाले, दोस्रो सत्रको ‘ह्वाट मेक्स नेपाल अ ग्रेट बिजनेज डेस्टिनेसन’मा  क्लव हिमालयका अध्यक्ष एवं पर्यटन व्यवसायी योगेन्द्र शाक्य, हाभेल्स इण्डिया लिमिटेडका अध्यक्ष अनिल भैसन, गयाम मोटर्स वक्र्सका प्रमुख कार्यकारि राजा गयाम, बान्धाम होटल एण्ड रिसोर्टसका वरिष्ठ निर्देशक (विकास) गोविन्द मुन्द्राले आफ्नो अनुभव सुनाउनेछन् ।

तेस्रो शत्रको ‘बिजनेश अपर्च्युनिटीज इन रिटेल बिजनेश’ विषयमा खल्ती डटकमका सीईओ अमित अग्रवाल, डा मिलानोका व्यवस्थापन निर्देशक शाहिल मलिक, लान्सकर्टका सहसंस्थापक अमित चौधरी, वेस्ट सेलर इण्डिका प्रताप स्वरुपले आफ्नो अनुभव सुनाउनेछन् भने चौथो शत्र ‘बिजनेश अपर्च्युनिटीज इन लाइफस्टाइल एण्ड एक्सपेरिमेन्टल ट्रेड एण्ड सर्भिसेज’ विषयमा टुटलका सीइओ शिक्षित भट्ट, सियाराम शिल्क मिल्सका उपाध्यक्ष जसभिन्दर अरोरा, यूक्लिनका संस्थापक अरूनभ सिंहा, फ्रेन्चाइज विजनेश ओपरेशनका क्षेत्रिय प्रमुख कपिलदेभ बुधराजाले आफ्नो अनुभव सुनाउनेछन् ।

त्यस्तै पाँचाै शत्रको ‘असरिङ द न्यू रिटेल एरा’ विषयमा बबरमहल रिभिजिटेडका अध्यक्ष विराट शम्शेर जवरा, क्लोभियाका प्रमुख कार्यकारि पंकज भर्मानीले संबोधन गरी आ–आफ्ना व्यवसायिक अनुभव आदान प्रदान गर्नेछन् ।

लगानीकाे अवसर सिर्जना गर्ने उद्देश्य

नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको एफएनसीसीआईले बताएको छ ।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय ब्रान्डहरूले एक्सपोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन् । एक्सपोले व्यवसायमा सीधा र अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिहरूलाई सहभागी हुन समेत आकर्षित गर्नेछ भने व्यवसायिक संजाल विस्तार र लगानी आकर्षणमा समेत यो कार्यक्रम महत्वपूर्ण माध्यम बन्न सक्ने विश्वास प्रकट गरिएको छ ।


एक्सपोमा बिभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र बिभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरू रहने छन् ।

नेपालका कुन कुन कम्पनीले सहभागिता जनाउनेछन् ?

सम्मेलनमा मुख्यतः अन्तराष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता हुनेछ ।

एक्सपोमा नेपालबाट अग्नि ग्रुप, टीव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस प्रा.लि. शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहने छ ।
त्यसैगरी भारतीय व्राण्डहरूमा नाइन कीड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका रहने छन् ।

कार्यक्रममा दुवै देशका गरी करिव ६० वटा व्राण्डहरूले भाग लिनेछन् । कार्यक्रमको पहिलो दिन नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नयाँ मार्गचित्र, नेपाललाई केले विशाल व्यवसायिक गन्तव्य बनाउन सक्छ, खुद्रा व्यवसायमा व्यवसायिक अवसरहरू लगायतका पाँच विभिन्न विषयमा दुवै देशका सफल व्यवसायीहरूले आ—आफ्ना अनुभवहरू आदानप्रदान गर्ने छन् ।

उक्त सम्मेलनलाई विशेषगरि एक्सपो र कन्क्लेभ गरि दुई भागमा व्यवस्थापन गरिएको छ । जस अनुसार २ सय पचास इच्छुक व्यवसायी र लगानीकर्ता कन्क्लेभमा र करिव एक हजार एक्सपोमा सहभागीे हुने लक्ष्य राखिएको छ ।

कार्यक्रमलाई अग्नी इन्कर्पोरेटेडले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सर टीव्रेवाला, गोल्ड स्पोन्सर मेरो घरर जीएमआर, सिल्भर स्पोन्सर नेपाल एसवीआई र सीटीअफ ड्रीम्स, ब्रोन्ज स्पोन्सरमा साङग्रीला चप्पल रहेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै आयोजक एफएनसीसीआईका अध्यक्ष भवानी राणाले उद्यमशीलतामा ईच्छुक र व्यवसायीक अवसरहरूमा लगानी गर्न रूची भएका अन्तराष्ट्रिय ब्राण्डहरूसँग सहकार्यको अवसर खोजीरहेकाहरूका लागि ध्यानमा राखी महासंघले यो सम्मेलन आयोजना गर्ने जमर्को गरेको बताइन् ।

उनले नेपालमा रहेका व्यवसायीहरूलाई अन्तराष्ट्रिय नेटवर्क बढाउनका लागि सहायता  र सजिलो गेटवेको प्रारम्भ गर्न महासंघको सदैव सहयोग रहने समेत उल्लेख गरिन् ।

कार्यक्रमा भारतीय राजदुतावासका कमर्स सेक्रेटरी कपिलध्वज प्रताप सिंहले नेपालको आर्थिक व्यवसायिक विकासको अभियानमा सहयोग पु¥याउने प्रयास स्वरुप भारतीय राजदूतावास, फ्रेन्चाइज इण्डिया र महासंघको पहलमा यो कार्यक्रम आयोजना हुन लागेको बताए ।

उनले विश्वकै सर्वोत्कृष्ट ब्रान्डको प्रयोग गर्ने अत्यधिक इच्छा नेपाली ग्राहकहरूमा रहेको र नेपालको अर्थव्यवस्था समेत बढ्दै गएकाले नेपालमा रहेका व्यवसायहरूले यहा“को मार्केटमा यस्तै ब्रान्डहरू उपलब्ध गराउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले धन्यवाद मन्तव्य दिनु भएको सो कार्यक्रममा फ्रेन्चाइज इण्डियाका सीइओ सचिन मार्याले महासंघसंग मिलेर नेपालमा कार्यक्रम गर्न पाएकोमा खुशी प्रकट गर्दै नेपाली ब्राण्डहरुलाई इण्डियामा वोलाएर यस्तै कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here