चार्जिङ स्टेसनको विद्युत् महसुल प्रतियुनिट ४ रुपैयाँ ६० पैसा मात्र

काठमाडौं, ३ कात्तिक । विद्युत् प्राधिकरणले विद्युतीय बसका चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ।

असोजदेखि लागू हुनेगरी प्राधिकरणले विद्युतीय सवारी चार्ज गरेबापतको महसुल निर्धारण गरेको हो। विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई प्राधिकरणले महसुलको जानकारी दिँदै पत्राचार गरेको छ।

विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई नै प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो।

अब विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट प्राधिकरणलाई चार रुपैयाँ ६० पैसा महशुल तिर्नुपर्ने छ। थप २० प्रतिशत मात्र शुल्क लिन पाउने छन्। त्यस्ता स्टेसनले यसअघि प्रतियुनिट १० रुपैयाँ शुल्क तिर्दै आएका थिए।

अब ठूला बस चार्ज गर्दा बढीमा साढे पाँच सय रुपैयाँ मात्रै शुल्क लाग्ने भएको छ। यस अघि यातायात व्यवसायीले १२ सय रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए।

एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा पनि २ सय ५० किलोमिटर गुड्छन्। काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन गर्न सकिने व्यवसायीको भनाई छ।

सुन्दर यातायातले काठमाडौं उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गर्दै आएको छ। सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए ।

उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो हुने दाबी छ ।

प्राधिकरणले कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here