नेपालमा हिमाल चढेको अनुभव मध्यपूर्वमा बाँड्छु : राजकुमार खलीफा

काठमाडौं, ७ कात्तिक । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफाले नेपालमा हिमाल आरोहण गर्दा सिकेको अनुभव मध्यपूर्वी मुलुकमा बाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालका दुई हिमाल चढेर स्वदेश फर्कनु अगाडी त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरि उनीसहित १८ जनाको टोली आज स्वदेश फर्किएकोछ । राजकुमार खलीफालाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा विदाई गरे । राजकुमार खलीफाले हिमाल नै थाहा नपाएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यताबाट ज्यादै रोमान्चित भएको र नेपालमा नै बसौं बसौं लागेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ ।

राजकुमारसहित १८ जनाको टोली १ महिना ७ दिन नेपाल बसेको छ । उनले यहाँको अनुभव मध्यपूर्वका जनतासँग बताए । नेपालमा बस्दा आफ्नो कुनै गुनासो नरहेको उनको भनाई छ ।

उक्त अवसरमा मन्त्री भट्टराईले नेपालका हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार भएको भन्दै राजकुमार खलीफाप्रति आभार व्यक्त गरेका छन् । उनले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भुमिका खेलिदिन पनि राजकुमारसँग आग्रह गरेका छन् ।

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलीफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको हो । टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए ।

उक्त टोलीले ८५१६ मीटर अग्लो मनास्लु र ६११९ मीटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो । आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९०० किलो फोहोर सफा गरेको थियो । लोबुचोको सबै फोहोर समेत सफा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here