प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै, कम्बोडियामा के के गरे ?

काठमाडौं, १ जेठ । भियतनाम हुँदै कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्कँदै छन् ।

कम्बोडिया भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता स्मारकमा पुगेर कम्बोडियाका वीर सैनिकहरु प्रति सम्मान व्यक्त गरे । साथै उनले कम्बोडियाको राष्ट्रिय संग्रहालय र सिल्भर प्यागोडाको समेत भ्रमण गरे ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बीच भेटवार्ता समेत भयो । भेटवार्तामा व्यापार र लगानी, पर्यटन, सँस्कृति र शिक्षा लगायतका विषयमा द्विपक्षीय सहकार्यको बारेमा छलफल भएको छ ।

दुई प्रधानमन्त्रीबीच क्षेत्रीय र अन्तराष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको र शान्ति, स्थायीत्व र दिगो विकासको लागि सहकार्य गर्ने सहमति पनि भएको दुवै देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भेटवार्तामा हुन सेनले नेपालको ऐतिहासिक राजनीतिक संक्रमण र मौलिक शान्ति सम्झौताको सराहना गर्दै प्रधानमन्त्री ओलीको नारा समृद्ध नेपाल सुखी नेपाली पनि सफल हुने आशा व्यक्त गरेको पनि बताइएको छ ।

भ्रमणको क्रममा दुवै प्रधानमन्त्रीको उपस्थितीमा कम्बोडिया र नेपालबीचको व्यापार र लगानी सम्बन्धि फ्रेमवर्क सम्झौतामा हस्ताक्षर समेत भयो ।

यसैगरी कम्बोडिया चेम्बर अफ कमर्श र नेपालको चेम्वर अफ कमर्श बीचमा पनि एक ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो ।

दुवै सम्झौताले दुई देशबीचको आर्थिक र व्यापारीक क्रियाकलापमा वृद्धि हुने विश्वास गरीएको छ ।

कम्बोडियाका प्रधानमन्त्रीको गत नोभेम्बरमा भएको नेपाल भ्रमणको क्रममा गरिएको हवाई सम्झौता कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको बताइएको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी हुन सेन र कम्बोडियाको नागरिकलाई स्वागत र न्यानो आतिथ्यताको लागि कृतज्ञता व्यक्त गरे । त्यस्तै प्रधानमन्त्री ओलीले कम्बोडियाली प्रधानमन्त्री हुन सेनलाई नेपाल भ्रमणको लागि निम्तो समेत दिए ।

गत वैशाख २६ गते भियतनामको लागि उडेका प्रधानमन्त्री ओली भियतनामको भ्रमण सकेर बैशाख ३० गते कम्बोडिया प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायत प्रतिनिधि सभा सदस्यहरु, उच्च तहका सरकारी कर्मचारी र व्यापारिक संघसंस्थाका प्रतिनिधिहरु भ्रमणमा सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here