सामसङ विश्वकै उत्कृट स्मार्टफोन, एप्पललाई उछिन्दै साओमी बन्यो तेस्रो ठूलो ब्रान्ड

काठमाडौं, १६ कात्तिक । विश्वकै मूल्यवान ब्रान्ड एप्पलले आफ्नो प्रभाव थप गुमाउँदै गएको छ । इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार कोरियाली कम्पनी सामसङ उत्कृष्ट स्मार्टफोन ब्रान्डका रुपमा रहेको छ । जसको विश्व बजारको कुल हिस्सामध्ये २२.७ प्रतिशत हिस्सा ओगट्दै उत्कृष्ट ब्रान्ड बन्न सफल भएको हो ।

तेस्रो त्रैमाससम्ममा ८ करोड ४ लाख थान सिपमेन्ट गरेको आईडीसीको तथ्यांकले देखाएको छ । सामसङको बजार हिस्सा गत वर्षको तुलनामा करीब १ प्रतिशतले बढेर २२।७ प्रतिशत पुगेको हो ।

दोस्रोमा हुवावे र तेस्रोमा साओमीले स्थान बनाएको छ । हुवावेको ५ करोड १९ लाख, साओमीको ४ करोड ६५ लाख र एप्पलको ४ करोड १६ लाख थान रहेको छ । साओमीले चिनियाँ कम्पनी ओप्पोलाई समेत पछि पारेको छ ।

हुवावेको बजार हिस्सा अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष झन्डै ४ प्रतिशतले खस्किएको छ । अघिल्लो वर्ष अर्को चिनियाँ ब्रान्ड ओप्पो दोस्रो नम्बरमा थियो भने तेस्रोमा हुवावे रहेको थियो ।

बजार गुमाउँदै गएको एप्पल भने चौथो नम्बरमा रहेको छ । एप्पलको बजार हिस्सा समिक्षा अवधिमा १३ प्रतिशतबाट ११.८ प्रतिशतमा झरेको देखिन्छ । यस अवधिमा यसको सिपमेन्ट पनि १०।६ प्रतिशतले कम भएको छ ।

पाँचौं स्थानमा रहेको भिभोले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ४.२ प्रतिशतले स्मार्टफोन सिपमेन्ट वृद्धि गर्दै ३ करोड १५ लाख थान पुर्‍याएको छ । बजार हिस्सा पनि ०।५ प्रतिशतले बढाएर ८.९ प्रतिशत हासिल गरेको छ ।

एप्पलको मोबाइल सेट सिपमेन्ट अघिल्लो वर्ष २०१९ मा पनि सन् २०१८ को भन्दा ६० लाख थानले घटेको थियो । यसले २०१८ को दोस्रो त्रैमाससम्ममा ४ करोड १३ लाख थान मोबाइल सेट विश्व बजारमा पठाएको थियो भने गत वर्षको सोही अवधिमा यो संख्या ३ करोड ५३ लाख थान रहेको आँकडा छ ।

२०२० को तेस्रो त्रैमाससम्ममा विश्व बजारमा कुल ३५ करोड ३६ लाख थान स्मार्टफोन आपूर्ति भएका छन् । यो अघिल्लो वर्षको समान अवधिमा ४९ लाख थानले बढी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here