कोरोना महामारीकैबीच विदेशिन असोजमा मात्रै ८ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

काठमाडौं, १६ कात्तिक । विश्व नै कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

कोरोना महामारीकै समयमा रोजगारीको लागि विदेशीने नेपालीको सख्या पनि बढ्दै गएको छ ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै बिदेश जान श्रम स्वीकृति लिनेको संख्या बढेको बैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार असोज महिनामा मात्रै ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका हुन् । तीमध्ये ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिला रहेका छन् ।

सबैभन्दा धेरै खाडीका देश जान श्रम स्वीकृति लिने छन् । वैदेशिक रोजगार कार्यालयका अनुसार सबैभन्दा धेरै खाडीको देश साउदी जान मात्र एक महिनाको अवधिमा २८ सय ३१ जनाले श्रम स्वीकृति लिएका छन् भने साउदीपछि सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स यूएई जानका लागि २६ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै कतारका लागि १३ सय ५१ जनाले, खाडीकै अर्को देश बहराइनका लागि ११३ जनाले, कुवेतका लागि १०३ जनाले, ओमानका लागि १०६ जनाले र मलेसिया जान १०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

लकडाउनकैबीच गत असारमा दुई हजार ४९४ जनाले र साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै भदौमा एक हजार ५ सय २५ जनाले स्वीकृति लिएको बिभागले जनाएको छ ।

कोरोनाको महामारीलाई लक्षित गर्दै सरकारले गत फागुनको अन्त्य तिरबाट श्रम स्वीकृति दिन स्थगन गरेको थियो । तर, असारदेखि भने त्यो खुल्ला गरिएको छ । श्रम स्वीकृति खुल्ला गरेपछि विदेशीने कामदारको सख्या बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here