काठमाडौं महानगरले दियो कान्ति बाल अस्पताललाई एक थान पिसीआर मेसिन

काठमाडौं, १७ कात्तिक । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पिसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो।

झण्डै १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे ।

‘भगिनी सम्वन्ध स्थापित भएका विभिन्न नगरहरुले काठमाडौं महानगरपालिकालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्ध रुपमा हामीले सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भने, ‘सेवा कसले दिनेभन्दा पनि सबैले मिलेर दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ । यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो ।’

शाक्यले यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षणका लागि पिसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिए।

अहिले सो अस्पतालले त्यहाँ उपचाररत विरामीलाई त्यही मेसिनबाट सेवा दिइरहेको छ । ‘कान्ति बाल अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण गरेको यो प्रारम्भिक चरण हो,’ उनले भने, ‘तपाईंहरुले त्यहाँ उपचाररत बालबालिकालाई राम्रो सेवा दिनुहोस् । काठमाडौं महानगरपालिका थप सहयोग गर्न तयार छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here