काठमाडौं, १८ कात्तिक । कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि खाद्यान्न आयात बढ्दै गएको छ ।
वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ भने घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।
खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न टुक्रे कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा खाद्यान्नमा परनिर्भरता करिब ४० प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ वर्ष यताकै बढी खाद्य वस्तु आयात भएको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा गत वर्षको तुलनामा १५ अर्ब ९० करोड रुपैयाँ बढीको खाद्य वस्तु आयात भएको हो ।
विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा ६३ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बराबरको खाद्य वस्तु आयात भएको छ ।
सो अवधिमा कुल १ अर्ब २१ करोड केजी खाद्य वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३९ करोड ४४ लाख ४४ हजार केजी बढी हो ।
उक्त खाद्य वस्तु आयातका क्रममा सरकारले ११ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
तर कृषि पेशामै आबद्ध कृषकहरुले पनि समयमै गुणस्तरीय बीउ, रासायनिक मल, कृषि उपकरण लगायत नपाउँदा कृषि उत्पादन बढाउन सकेका छैनन् । जसले खाद्यान्नमा वर्षेनी परनिर्भरता बढ्दै गएको देखिन्छ ।