उद्योग वाणिज्य महासंघ चुनाव: चन्द्र ढकाल समूहको उम्मेदवारी दर्ता

काठमाडौं, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलले मनोनयन दर्ता गरेको छ ।

मंगलबार ढकालसहित उनको प्यानलका सबै पदका उम्मेदवारहरुले महासंघको केन्द्रीय कार्यालय टेकूमा मनोनयन दर्ता गराएका हुन् ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारीले मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको थियो ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार आगामी कार्यकालका लागि शेखर गोल्छा अध्यक्ष हुने निश्चित छ ।

सम्बन्धित

‘आर्थिक संकटलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक’ : ढकाल

उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै, किशोर प्रधान प्यानलद्वारा मनोनयन दर्ता