कहिले खुल्छ लाइसेन्स आवेदन र ट्रायल परीक्षा ? यातायात विभाग भन्छ धैर्य गर्नुस्

काठमाडौं, २० कात्तिक । झण्डै ८ महिनादेखि यातायात व्यवस्था विभागको सवारी अनुमति पत्र (लाइसेन्स)को आवेदन र प्रयोगात्मक परीक्षा ट्रायल दिने कार्य बन्द छ ।

कोरोना संक्रमण बढ्दै गएको कारण चैत ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि बन्द भएको लाईसेन्सको आवेदन दिने र ट्रायल दिने कार्य अझै खुल्न सकेको छैन् ।

त्यसो त विस्तारै देशभरका सबै सरकारी कार्यलयहरु खुल्दै गईरहेको अवस्था भएपनि यातायात व्यवस्था विभाग भने लाइसन्सको लागि आवेदन खोल्ने र ट्रायल दिने कार्य सुरु गर्ने तयारीमा देखिदैन् ।

तिहारअघि लाइसेन्स आवेदन र ट्रायल परिक्षा नखुल्ने कुरा बताउदै लाइसेन्सको अझै केही समय धैर्य गर्नुपर्ने कुरा यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुषाल बताउँछन् ।

‘तिहारअघि त हामी कुनैपनि हालतमा लाइसेन्स आवेदन र ट्रायल परीक्षा सञ्चालन गर्न सक्ने स्थितिमा छैनौं’ उनले क्लाउड पत्रिकासँग भने, ‘तिहारपछि पनि कोरोना संक्रमणको अवस्था कस्तो रहन्छ त्यसले निर्धारण गर्छ । अहिलेको अवस्थामा धैर्य गर्नुको विकल्प छैन् ।’

काठमाडौं उपत्यका कारोना संक्रमणको उच्च जोखिममा रहेको कारण यातायात कार्यलय सबैभन्दा धेरै भिड हुने कार्यलय भएकोले यसबाट उत्पन्न हुनसक्ने जोखिमको कारण पनि विभागले यस विषयमा केही निर्णय गर्न नसकेको भुषालको भनाई छ ।

‘देशभर कोरोनाको यस्तो त्रास छ यस्तो अवस्थामा सवारी लाइसेन्स २ महिना पछि लिदाँ केही फरक पदैन्’ उनले भने, ‘संक्रमण कम भएसंगै हामी सूचना प्रकाशन गरेर यो कार्यलाई अघि बढाउछौं ।’

यसका साथै प्रदेश सरकारको निर्णय अनुसार लाइसेन्स आवेदन र ट्रायल परिक्षाको कार्य अघि बढाइने समेत विभागको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here