तिहारलाई स्वदेशी सयपत्री फूल नै पर्याप्त, मूल्य ७० रुपैयाँको हाराहारीमा मात्रै

तस्विर: रक्षा रेग्मी

काठमाडौं, २२ कात्तिक । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ ।

तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ। तर, यस वर्ष स्वदेशी सयपत्री फूल नै पर्याप्त रहेको सरोकारवालाले बताएका छन् ।

एसोसिएसनअफ नेपालीएग्रिकल्चर जर्नलिष्ट (अनाज) द्धारा शनिबार आयोजित ‘आसन्न तिहार र सयपत्री फूलमा आत्मनिर्भरताको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्रीफूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दावी गरे ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले विगतमा भारतबाट पनि सयपत्री फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए ।

यसवर्षको तिहारमा सयपत्री १२ लाख र मखमली ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने भन्दै स्वदेशी उत्पादनले नै धान्ने बताए ।

माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँको हाराहारीमा मात्रै रहने उनको भनाइ छ । पछिल्लो समय सयपत्रीफूलको खेती विस्तार हुँदै गएका कारण आत्मनिर्भरताको अवस्थामा पुगेको उनले बताए ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गएको वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाण्डौ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here