अघिल्ला वर्षको तुलनामा उपत्यकामा यो वर्ष छिट्टै जाडो, जुम्लाको तापक्रम माइनसमा

काठमाडौं, २४ कात्तिक । उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ । मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला २/४ वर्षको तुलनामा छिट्टै जाडो बढेको हो ।

सोमबार बिहान पनि काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । आइतबार काठमाडौं न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो ।

अघिल्लो वर्ष आजको दिन काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सन् २०१८ मा पनि काठमाडौंको आजको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने र त्यसैले गर्दा बढी जाडो महशुस भएको मौसमविद्को भनाइ छ ।

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिक रूपमा घट्दै गएको मौसमविद्हरुले जनाएका छन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ ।

कात्तिक महिनाको दोस्रो हप्तादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्याधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here