बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य

काठमाडौं । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनले कोभिड-१९ महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ ।

उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन । उनको टोलीका अनुसार अमेरिकामा कोभिड परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ । बाइडेनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

तर ट्रम्पले हार स्वीकारेका छैनन्

राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् र बाइडेनको जित प्रक्षेपणमै सीमित छ । केही महत्त्वपूर्ण राज्यहरूमा मतगणना जारी छ । तर अमेरिकाका मुख्य नेटवर्कहरूले निर्वाचनमा उनी विजयी भएको भनेसँगै डेमोक्र्याटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी जनवरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडेनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुन: स्वीकार गर्नेछ । त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडेनले बदर गर्ने बताइएको छ । ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् ।

‘निको हुने समय’

राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिवार उनले यो ‘निको हुने समय’ भएको बताएका थिए । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शनिवारको सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए । बाइडेनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन् ।

‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,’ उनले भने । ‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ ।’ अमेरिकामा डेमोक्र्याटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन् । बाइडेनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट छुट्याइने कुराको सङ्केत गरेका हुन् । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here