डिसेम्बरको अन्त्यसम्म सर्वसाधारणमा कोरोनाको खोप

काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप एक महिनाभित्रै सर्वसाधरणसम्म आउने भएको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका फर्मास्युटिकल्सको संयुक्त प्रयासमा विकास भइरहेको खोप आगामी डिसेम्बर अन्त्यसम्ममा तयार भइसक्ने दाबी गरिएको छ ।

सो संस्थाका अनुसार डिसेम्बरपछि खोप आम सर्वसाधारण मानिसको पहुँचमा पुग्ने छ । तर यसका लागि नियमनकारी निकायको अनुमति आवस्यक पर्नेछ । एस्ट्राजेनेका फर्मास्युटिकल्सले भने नियमनकारी निकायबाट अनुमति पाएको खण्डमा २०२१ को जनवरीदेखि नै सर्वसाधारणसम्म खोप पुर्‍याउन सकिने जनाएको छ ।

तर नियमनकारी निकायले छिट्टै आफ्नो काम गर्न सकेको खण्डमा कम्पनीले भने खोप डिसेम्बरको अन्तिम सातादेखि नै सर्वसाधारणमाझ पुर्‍याउन सक्ने उस्को भनाई छ ।

साउथ चाइना मर्निङ पोस्टले एस्ट्राजेनेकाका सिइओ सोरियटलाई उधृत गर्दै लेखेको छ, ‘नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांक निगरानी गरिरहेका छन् ।

हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ । अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन् ।’

कोरोनाको खोप विकासको काम छिटो गरिरहेका देशमा बेलायत पनि एक हो । यद्यपि यसअघि उक्त खोप परीक्षणका बेला परीक्षण गरिएका मानिस अचानक बिरामी परेपछि खोपको काम बीचमा रोकिएको थियो ।

एस्ट्राजेनेका कम्पनीले खोप वितरणमा लागि अमेरिका, बेलायतसहित युरोपियन युनियन, जापान र ब्राजिलसँग सम्झौता गरिसकेको छ । गत सेप्टेम्बरमै परीक्षणको तेस्रो चरणमा गएको यो खोप सर्वसाधारणमा उपलब्ध हुनसके कोभिड–१९ लाई नियन्त्रणमा लिन सकिने विश्वास वैज्ञानिकहरुको छ ।

खोप निर्माता कम्पनीले यो खोप कति पटकसम्म लगाउनुपर्दछ भन्ने यकिन नभएको भन्दै खोपले कस्तो काम गर्छ त्यसमा निर्भर हुने पनि बताएका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here