किताब आयातमा लगाइएको कर हट्यो

काठमाडौं, २५ कात्तिक । सरकारले किताब आयातमा गत दुई वर्षदेखि लगाउन थालेको भन्सार हटाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले किताब आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले किताब आयातमा भन्सार लगाउने नीति ल्याएका थिए। सरकारले पठन संस्कृतिलाई निरुत्साहित गर्न खोजेको भनी सो नीतिको धेरै आलोचना समेत भएको थियो।

किताबमा अतिरिक्त कर लगाउन थालिएपछि नेपालमा विदेशमा प्रकाशित पुस्तक तथा पत्रपत्रिका बिरलै आउन थालेका थिए । विभिन्न प्रकाशक तथा पाठकहरूले यो व्यवस्थाको विरोधमा प्रदर्शन तथा आलोचना गरेका थिए ।