काठमाडौं, २६ कात्तिक । तिहारको माहोल विस्तारै बढ्दो क्रममा छ । न्यूरोड तथा असनका पसलहरुमा तिहारका लागि चाँहिने मखमलीका मालाहरु देखिन थालेका छन् ।
यो वर्ष अघिल्लो वर्षको तुलनामा पुष्प व्यापारमा कमी आउने कुरा सहजै अनुमान गर्न सकिन्छ । तर, नेपाली पुष्प व्यवसायीलाई भने कुनै असर पर्ने देखिदैँन् ।
यसका साथै माग कम भएरै भएपनि यो वर्षको तिहारको लागि भने भारतबाट फूल ल्याउन नपर्ने भएको छ । समयको मागलाई स्वदेशी फूलहरुले नै परिपुर्ति गर्न सक्ने कुरा केही समयअघि नेपाल फ्लोरिकल्चर एसोसिएसनले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
कस्तो छ माग ?
अघिल्लो वर्षको तुलनामा यो वर्ष फूलको मागमा भने कमी आउको कुरा नेपाल फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजू श्रेष्ठ बताउँछन् ।
‘देशभर कोरोनाको कहर बढेको बढै छ यस्तो अवस्थामा अघिल्ला वर्षहरुको जस्तो उत्साह रौनक छैन् यस्तोमा माग हुने त कुरा नै छैन् ।’ उनले भने, ‘तरपनि नेपाली पुष्प व्यवसायीलाई भने कुनै ठूलो प्रभाव पर्ने देखिदैन् ।’
१२ करोडको कारोबार लक्ष्य
यो वर्ष तिहारमा १२ करोडको मालाको कारोबार लक्ष्य रहेको कुरा अध्यक्ष श्रेष्ठ बताउँछन् ।
‘अघिल्लो वर्ष १७ करोडसम्मको मालाको कारोबार भएको थियो । तर, अहिलेको अवस्था असामान्य रहेको कारण यस वर्ष करीब १२ करोड रुपैयाँको कारोबारी लक्ष्य रहेको छ, श्रेष्ठले बताए ।
यो वर्ष प्रतिगोटा मालाको मूल्य पनि बढ्ने देखिएको छ । अघिल्लो वर्ष प्रतिमाला ५५ देखि ६५ रुपैयाँमा कारोबार भएको माला यो वर्ष बढेर ६० देखि ७० रुपैयाँसम्म पुगेको श्रेष्ठले क्लाउड पत्रिकासँग भने ।






















