नेतृत्वमा व्यक्ति रहे पनि संस्था सामुहिक निर्णयले चल्नुपर्छ: सौरभ ज्योती

नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, बित्त तथा बीमा समिति सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक ज्योतिले महासंघको भूमिका पूरा गर्न आफ्नो व्यवसायलाई भन्दा धेरै जोड दिनु पर्ने धारणा राख्दै आएका छन् ।

उनले पहिलो कार्यकालमै एसोसिएट उपाध्यक्षमा इच्छा देखाएका थिए । तर, विभिन्न परिस्थिति र ‘टिम स्पिरिट’ का लागि उनले उक्त पद छाडेका थिए । एक प्रकारले उनलाई युवा नेता पनि भन्निछ, तर पनि उनको कपाल फुलिसकेको छ ।

टिमको भावना र एकरुपता हुनुपर्छ भन्ने निजी क्षेत्रमा उनकोे बलियो सिद्धान्त छ । पहिलेको कार्यकालमा उनले अर्को पटक आउँछु भनेर अरु साथीहरुलाई बाटो खुल्ला गरिदिएको ज्योती बताउँछन् । त्यहाँ उनको ६ वर्ष बितिसकेको छ ।

त्यसैले अहिले आफुले एशोसिएट्सको उपाध्यक्षमा दाबी गरेको ज्यातीको भनाई छ । यसमा नतिजा ल्याउने गरि काम गर्ने सोच उनले बनाएका छन् । समग्र रुपमा अर्थतन्त्रको विकासमा लाग्ने प्रतिबद्धता ज्योतीले जनाएका छन् । व्यापार व्यवसायको समृद्धिमा आफ्नो जोड रहने उनको भनाई छ ।

‘व्यवसायीहरु समृद्ध हुँदा ठूला व्यवसायको मात्र होइन समग्र रुपमा साना, मझौला उद्योगदेखि लिएर सबै वर्गको हुनुपर्छ । समग्र आर्थिक विकासको शुत्र पनि यही नै हो,’ ज्योती भन्छन्, ‘नत्र सीमित व्यक्तिले मात्र प्रगति गर्न सक्यो भने हाम्रो आर्थिक विकास हुने सम्भावना हुँदैन । समृद्ध नेपाल र सुखी नेपालीको जुन सपना हामीले लिएका छौं, त्यो साकार पार्न ग्राह्रो हुन्छ । त्यसैले महासंघको, साझा समृद्धि र समावेशीविकासमा लाग्नुपर्छ भन्ने हाम्रो मुख्य एजेण्डा हो ।’

कर समितिमा सभापति भएर पहिलो कार्यकालमा काम गर्दा महासंघको सञ्जाल नेपाल सरकारको कर कार्यालयको सञ्जाल भन्दा बढी भएको उनको अनुभव छ । त्यसैले पनि एजेण्डा वस्तुनिष्ठ हुनुपर्छ भन्ने धाराणा राख्छन् ज्योती ।

विज्ञसहितको प्रोफेसनल सचिवालय आजको आवश्यक्ता रहेको बताउने ज्योती अबको उद्देश्य रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताउँछन् । आर्थिक समृद्धि र सबै सदस्यको हक हीतकालागि लड्ने प्रतिबधता उनको छ ।

तर यो विषयबाट महासंघ अलि बाहिर गइरहेको एक दशकभन्दा बढी भइसकेको छ । अहिलेको मुद्दा नै राजनीति हुन्छ । को कुर्सीमा आउने ? कार्य समितिमा पनि छलफल हुँदा आधा कुरा त आन्तरिक राजनीतिकै हुन्छ । यो एकदम गलत छ, उनी भन्छन् ।

महासंघ सचिवालय पनि तथ्य र तथ्यांकका आधारमा काम गर्न सक्ने किसिमले स्थापित गनरिने पर्ने ज्योतीको भनाई छ । यसका लागि पनि आफुहरुले टीमबाट महासंघको सुदृढीकरणको विषयमा सचिवालयलाई प्राथमिकतामा राखेको उनी बताउँछन् ।

‘महासंघको मुख्य मुद्दा भनेको अर्थतन्त्र जोगाउने हुनुपर्छ । खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्याएको असरको आर्थिक रिकभरिमा लाग्नुपर्ने टडकारो आवश्यक्ता छ । अर्थतन्त्र धरासायी अवस्थामा छ । विदेशबाट लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन्,’ ज्योतीले भने ।

उनीहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण कसरी बनाउने ? दीर्घकालीन स्थायी नीतिहरु कसरी स्थापित गर्ने, थिंक ट्यांकमा कसरी अघि बढ्ने ? यस्ता विषय आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

नतिजाउन्मुख काम गर्नका लागि महासंघलाई राजनितिमुक्त बनाउँदै वस्तुनिष्ठ व्यावसायिक संस्था बनाउन ज्योतीले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण समेत गराएका छन् । नेपाल सरकारलाई उचित सल्लाह दिएर क्षेत्रगत रुपमा सामाजिक र राष्ट्रकै विकासमा ठूलो योगदान गर्ने निजी क्षेत्र भएकाले त्यो दिशामा जाने बाटो पनि नीजि क्षेत्रले नै बनाउनु पर्ने उनको तर्क छ ।

प्रोफेसनल संस्था बनाएर राजनीतिमुक्त संस्था बनाउने मेरो व्यक्तिगत सिद्धान्त र उद्देश्य हो, ज्योती भन्छन्, व्यक्तिगत भने पनि टिमको कुरा त आइहाल्छ । टिम पनि यही सोच भएका साथीहरु रहेको नै भएकाले हामीले महासंघमा परिवर्तन चाहेका छौं ।

हाल एशोसिएट्सतर्फ ९ सय २७ जना मतदाता रहेका छन् । ती सबै मतदाताहरु उद्योग, व्यवसायका प्रमुखहरु, प्रोपाइटरहरु, मालिकहरु सबै प्रोफेसनल व्यक्ति भएकाले पनि आफ्नो चुनाव जित्ने रणनीति धेरै सरल रहेको उनको बुझाई छ ।

‘नेपालमा कुरै गर्न त सबैले ठूला–ठूला गर्छन्, कुरा होइन काम हुनुपर्यो भन्ने मेरो धारणा हो । त्यसै पनि म कम बोल्ने मान्छे हो, काम कति गरेको छु भन्ने त साथीहरुले बिचार गर्नु भएको छ । अरु काम नेतृत्वमा पुगेर गर्न सहज होला भनेर यस पटक अघि सरेको छु,’ ज्योती भन्छन् ।

जसले काम गर्नका लागि त्यो पदमा पुग्ने योग्यता राख्छ त्यो व्यक्ति नै नेतृत्वमा पुग्नु पर्छ भन्ने धारणा ज्योतीको छ ।

आफूले दाबी गरेको पदमा सेवा गर्नलाई मौका दिन आग्रह गरेको बताउने ज्योती कामबाटै अगाडि बढेर आफूले सहयोग माग्ने अवस्थामा पुगेको रसहयोग पाएर त्यो पद पाइसकेपछि एक्लै नभई टिम भएर काम गर्न प्रतिबद्ध रहेको बताउँछन् ।

१९ जनाको टिममा आफूहरु र ९ सय २७ जना नै मासिक रुपमा छलफल गरेर निकास खोज्ने योजना आफुले बनाएको ज्योतीको भनाई छ । सबैको सुझावहरु संकलन गरेर हामी अघि बढ्ने हो । समस्या छ भने समाधान गर्ने, आर्थिक समृद्धिका लागि आवश्यक योजना र रणनीति बनाउने, निजी क्षेत्रको शसक्तीकरणमा लाग्ने एजेण्डालाई हामीले आत्मसाथ गरेर अघि बढेका छौं, उनले भने ।

निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको बताउने ज्योती मतदाताले राम्रो मान्छे चिन्न सक्नु पर्नेमा जोड दिन्छन् । व्यक्तिले जे भने पनि टीममा मिलेर काम गर्नु पर्ने र त्यो गर्ने क्षमता आफूहरुको टीममा रहेको उनको बुझाई छ ।

आगामी अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, उपाध्यक्षहरुमा आफू र अन्जन श्रेष्ठको एउटा धार भएकाले पनि महासंघलाई अबका दिनमा बलियो बनाउन यो टीमलाई अघि बढाउनुको विकल्प नरहेको उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here