खुलामञ्चको विकल्पमा थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य शुरू

काठमाडौं, ३ मंसिर । खुलामञ्चको विकल्पमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य शुरू भएको छ ।

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरु बीचको सहमति अनुसार नै बुधबारबाट भोजन कार्य शुरु भएको हो ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए ।

खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न यसअघि चेतावनी दिँदै सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड बढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ ।

तिहारअघि भएको छलफलमा तिहारपछि खुला ठाउँमा खाना खुवाउन रोकेर भाडामा ठाउँ लिएर खाना खुवाउने अभियान चलाउने सहमति भएको थियो । सहमतिअनुसार खाना खुवाउने ठाउँको भाडा महानगरपालिकाले व्यहोर्ने रहेको थियो ।

भाडाको ठाउँ खोजिरहेको र ठाउँ नपाउञ्जेल खुला ठाउँमै खाना खुवाउन आफूहरु बाध्य भएको अभियान्ताहरुले बताएका छन् । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण रोजगारी गुमाएर खाना खान समस्या भएकाहरुका लागि खुलामञ्च लगायत ठाउँहरुमा खाना खुवाउने अभियान चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here