आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक बनाउन एडिवीसंग साढे २१ अर्बको सम्झौता

काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक विस्तार हुने भएको छ ।

सडक साघुँरो भएको भन्दै चालु आर्थिक वर्षबाट नै काम सुरु हुनेगरी ४ लेनमा सडक बिस्तार गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय जनाएको छ ।

८० किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडक खण्डलाई ४०–४० किलोमिटरको २ प्याकेजमा निर्माण गर्ने गरी बोलपत्र आह्वान समेत गरि सकिएको छ।

आयोजनाले दिएको जानकारी अनुसार २ खण्डमा भएको बोलपत्र आब्हानमा ३५ वटा कम्पनीले प्रस्ताव पेस गरेका छन् । आयोजनाका अनुसार यसै बर्षको फागुन–चैत भित्रमा ठेक्का सम्झौता गरी निर्माण सुरु हुनेछ ।

मुग्लिनदेखि आँबुखैरेनीसम्म खण्डको डीपीआर निर्माणको क्रममा छ । मुग्लीन देखी पोखरा सम्मकै सडकको डिपीआर कोरियाली परामर्शदाता केईसीसीले तयार गरिसकेको छ ।

मुग्लिन–आँबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह भएका कारण जलविद्युत् गृहलाई हानी नहुने गरी गोरखा जिल्लातर्फबाट सडक विस्तार गर्न लागिएको आयोजनाले जनाएको छ ।

आँबुखैरनी–पोखरा सडक खण्ड निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । एडीबीले एसियाली राजमार्ग मापदण्डअन्तर्गत सडक निर्माण गर्न २१ अर्ब ४५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन सरकारसँग सम्झौता गरिसकेको छ। बाँकी अपुग रकम नेपाल सरकारले व्यहोर्ने बताईएको छ।

आँबुखैरनी–पोखरा सडकखण्डमा रहेको घनाबस्ती भएको ठाउँमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ ७/७ मिटरको हुनेछ। मुख्य सडकलाई एक अर्काबाट छुट्ट्याउन ३ मिटरको डिभाइडर निर्माण गरिने भएको छ। आकस्मिक अवस्थामा सवारी रोक्न २.५ मिटरको सोल्डर र सडकको दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ ।

ढल व्यवस्थापनका लागि दुवैतर्फ २/२ मिटर छुट्ट्याइएको हुन्छ भने पैदल यात्रुका लागि १/१ मिटरको फुटपाथ निर्माण हुने भएको छ।यो सडक खण्डमा पर्ने मादी र सेती नदीमा सिग्नेचर पुल पनि बनाउने आयोजनाको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here