घरजग्गा कारोबार न्यून, तीन महिनामा ४ अर्ब ४२ करोड राजश्व संकलन

काठमाडौं, ५ मंसिर । कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । अघिल्ला वर्षहरूको तुलनामा महामारीको प्रकोप बढेसँगै घरजग्गा कारोबार प्रभावित भएका हुन् ।

महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबार नाटकीय रुपमा धरासायी बनेको तथ्यांकले देखाएको छ ।

मानिसहरु संक्रमणबाट बच्न शारीरिक दूरी राख्नेलगायत सावधानी अपनाइरहेले घरजग्गा किनबेचको असर पुगेको व्यवसायीको दाबी छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा १ लाख ७० हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । असोज मसान्तसम्ममा कुल ५६ हजार ८३८ वटा घरजग्गा किनबेच भएका छन् ।

विभागको अनुसार उपत्यकामा मात्रै असोजमा ६ हजार ९०८ घरजग्गा किनबेच भएको छ । चालू आर्थिक वर्षको ३ महिना (साउन–असोज) मा भूमि कारोबार मार्फत ४ अर्ब ४२ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

विभागको तथ्यांक अनुसार चालू आवमा २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । १ अर्ब २२ करोड २१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो ।

चालू आवको पहिलो त्रैमासिकमा उपत्यका भित्र मात्र २ अर्ब ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

घरजग्गा कारोबारका क्रममा उपत्यका भित्र १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरिएको छ भने कुल ६४ करोड ७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

ललितपुरमा मात्र ४४ करोड ९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । ललितपुर क्षेत्रमा घरजग्गा कारोबारबाट २८ करोड ७८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो । १५ करोड ५६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

भक्तपुरबाट मात्र ३२ करोड ६६ लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा २० करोड २१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो भने पूँजीगत लाभकर ११ करोड ४६ लाख रुपैयाँ संकलन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here