स्पेनिस ला लिगा: बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित

काठमाडौं, ७ मंसिर । स्पेनिस ला लिगामा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ । गएराति घरेलुटीम एट्लेटिको मड्रिडको मैदानमा बार्सिलोना १-० ले पराजित भएको हो ।

पराजित भएसँगै लय भेट्टाउन संघर्ष गरिरहेको बार्सिलोना शीर्ष क्लब रियाल सोसिडाडभन्दा नौ अंकले पछि परेको छ।

घरेलु टीम एट्लेटिको मड्रिडको जितमा यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।

जितसँगै एट्लेटिकोले शीर्ष स्थानको रियाल सोसिडाडसँग अंक बराबरी गरेको छ। रियाल सोसिडाडले ९ खेलबाट २० अंक जोडेको छ।

समान २० अंक भए पनि एट्लेटिकोले एक खेल कम खेलेको छ। यससँगै एट्लेटिकोले अपराजित यात्रालाई २४ खेलसम्म कायम राखेको छ।

पराजित बार्सिलोना भने ला लिगाको दशौं स्थानमा छ। आठ खेल खेलेको बार्सिलोनाको ११ अंक छ। जुन रेलिगेशन क्षेत्रमा रहेको एसडी हुएस्काभन्दा चार अंकले मात्र माथि हो।

लिगको आठ खेलमा बार्सिलोनाको यो तेस्रो हार हो। जारी सिजन बार्सिलोनाले तीन खेलमात्र जित्न सकेको छ।