नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता उत्साहित, रोजाइमा पर्यटन क्षेत्र

काठमाडौं, ८ मंसिर । कोरोनाकै बीच नेपालमा विदेशी लगानी प्रतिबद्धता बढ्दै गएको छ। उद्योग विभागमा तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ का लागि आएको लगानी प्रतिबद्धताको परिमाणले वैदेशिक लगानी बढेको देखाएको हो।

तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा करिब २० अर्बको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले ९४ उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्।

साउनदेखि कात्तिक मसान्तसम्म १९ अर्ब ८१ करोड रुपैयाँको वैदेशिक लगानी प्रस्ताव आएको छ । वैदेशिक लगानी प्रस्ताव गत वर्षको सोही अवधिको तुलनामा करिब साढे ५ अर्बले कमी हो ।

गत आवको सोही अवधिमा २५ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो भने ११५ नयाँ उद्योग दर्ता भएका थिए । विभागको अनुसार गत वर्षको तुलनामा उद्योगको संख्या कमी आए तापनि लगानीमा वृद्धि भएको छ ।

चालू आर्थिक वर्षमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आए तापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको विभागको दाबी छ । सो अवधिमा पर्यटनतर्फ विदेशी लगानीका ६१ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योग सञ्चालनका लागि १४ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

गत वर्षको पहिलो चौमासमा पर्यटनतर्फ ४९ वटा उद्योग सञ्चालनका लागि ७ अर्ब ३० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । विभागको अनुसार सेवामूलक क्षेत्रमा २६ उद्योगका लागि ४ अर्ब ६५ करोडको प्रतिबद्धता आएको छ ।

कृषि तर्फ यो चौमासिकमा ३५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । पूर्वाधार र उत्पादकमूलक क्षेत्रमा ३/ ३ वटा नयाँ उद्योग सञ्चालनका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

सो मध्ये पूर्वाधार तर्फ ३ उद्योग सञ्चालनका लागि ३० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रतर्फ ३ नयाँ उद्योग सञ्चालनका लागि ३६ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here