कर्मचारीलाई त्रसित नगरी काममा लगाउने अर्थमन्त्रीको भनाइ, राजस्वको लक्ष्य पूरा गर्न निर्देशन

काठमाडौं, ८ मंसीर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने बताएका छन् ।

अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा आज आयोजित कार्यक्रममा बोल्दै उनले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताए ।

‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छ,’ उनले भने ।

चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न पनि उनले निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताएका हुन् ।

नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने उनको भनाइ छ ।

कोभिडका कारण ‘ब्याक गियर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिंदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अर्थमन्त्री पौडेलले अनुरोध गरे ।

समस्या र समाधानका बारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न पनि उनले आग्रह गरेका छन् ।
‘आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस् । हामी सहयोग गर्न तयार छौं,’ उनले भने ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए ।

राजस्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकता अनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न उनले निर्देशन दिएका छन् ।

राजस्व सचिव रामशरण पुडासैनीले राजस्व चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरे ।

सम्बन्धित समाचारः

वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क, त्यसपछि कति लाग्छ ?

काठमाडौं महानगरका सबै वडामा अनलाइन राजस्व प्रणाली, ११ दिनमै उठ्यो १ करोड ६० लाख

निकासी पैठारी संघलाई राजस्व बोर्डमा राख्न माग

घट्यो नेपालको वैदेशिक व्यापार, भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै

सरकारको लक्ष्यको ६०.८५ प्रतिशत राजस्व संकलन, सात दिनमै खातामा ९ अर्ब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here