कक्षा १२ को परीक्षा शुरु, कोरोना संक्रमितको लागि छुट्टै स्थानको व्यवस्था

काठमाडौं, ९ मंसिर । कक्षा १२ को परीक्षा मंगलबारदेखि सञ्चालन भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजेदेखि परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन् ।

कोरोना संक्रमण कायमै रहे पनि भौतिक दूरी कायम गरी परीक्षा लिन लागिएको हो ।

गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो । परीक्षा १६ गते सकिनेछ । परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षामा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीलाई आग्रह गरेका छन्।

राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी धेरै रहेका परीक्षा केन्द्रलाई स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन निर्देशन दिएको छ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षा दिन सक्ने विद्यार्थीका लागि भने छुट्टै ठाउँको व्यवस्था गरिएको छ।

बोर्डले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमूखीकरणको काम पनि गरिसकेको छ ।

यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने स्कुल आफैँले मूल्याङ्कन गरेर दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here