तीन महिनामा मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्बको कारोबार

काठमाडौं, ११ मंसिर । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

कोरोना संक्रमणको त्रास बढेसँगै फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

साउन, भदौ र असोजमा मोबाइल र इन्टरनेट बैंकिङमार्फत ८२ अर्ब आठ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

इन्टरनेट बैंकिङका ६ लाख ९० हजार वटा कारोबारमार्फत १४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । साउनमा तीन अर्ब १० करोड, भदौमा चार अर्ब ७४ करोड र असोजमा ६ अर्ब ३१ करोड रुपैयाँ इन्टरनेट बैंकिङमार्फत कारोबार भएको छ ।

यस्तै तीन महिनामा मोबाइल बैंकिङका एक करोड ९७ लाख वटा कारोबारमार्फत ६७ अर्ब ९३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

मोबाइल बैंकिङमार्फत साउनमा १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ, भदौमा २० अर्ब ३४ करोड रुपैयाँ र असोजमा २८ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

बिशेषगरि कोरोना भाइरसको त्रास बढ्दै गएपछि नेपालमा पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको मात्रा बढ्दै गएको छ ।

मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, आरटीजीएस मार्फत हुने कारोबार बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले बताएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here