‘पक्ष विपक्षको प्यानल समाप्त भयो महासंघ अब एक ढिक्का भएर अगाडि बढ्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, १६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ पक्ष विपक्षमा बाँडिएर नभई एक ढिक्का भएर काम गर्ने बताएका छन् ।

निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले उक्त कुरा बताएका हुन् ।

निर्वाचन अगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले व्यवसायीक वातावरण निर्माणमा नयाँ कार्यसमितिले अब महासंघ पक्ष विपक्षमा बाँडिएर नभई एक ढिक्का भएर अगाडि बढ्छ उनले भने ।

निर्यातलाई प्रवद्र्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए । अहिले भन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमश घट्दै गएकोले पनि समस्या देखिएको बताए ।

उनले बैंकले कम स्प्रेड राखेर व्यवसाय खोल्न कर्जा दिन सकेमात्र नेपालमा औद्योगिक वातावरण निर्माण हुने दाबी गरे ।

‘म व्यवसायसँगै बैंकर पनि हुँ, मैले जति आम्दानी बैंकले दिने बोनसबाट पाउँछु त्यसको कयौं गुणा रकम उद्योग व्यवसायबाट पाएको छु । म बैंकले लिने स्प्रेड सधैँ कम हुनु पर्छ भन्ने मान्यताबाट अगाडि बढेको व्यवसायी हुँ । त्यसैले व्यवसायी मित्रहरुलाई बैंकको स्प्रेड कम गर्न मेरो पहल हुने विश्वास दिलाउँछु’, ढकालले भने ।

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले अहिले नेपालको अर्थतन्त्र सिंगल इन्जिन जडान भएको जहाज जस्तो देखिएको बताउँदै अर्को इन्जिन वस्तु उत्पादन र त्यसको निर्यात हुनु पर्ने धारणा राखेका थिए ।

गोल्छाले महासंघले १० वर्षे रणनीति निर्माण गरेर अगाडि बढ्ने योजना अनुसार काम भइरहेकाले अहिलेको नयाँ कार्यसमितिले निजी क्षेत्रको लागि केही उल्लेखनिय काम गर्ने दाबी गरे ।

अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको र कुनैपनि बेला रेमिट्यान्समा कमि आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने बताए ।

त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here