सुध्रिएनन् जड्याँहा चालक, १० महिनामा १८ हजार लाइसेन्समा प्वाल

६ जेठ, काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकमाथि आक्रामक कारवाही गर्छ । सडकमा चेकिङ उत्तिकै हुन्छ । पक्राउ परे जरिवाना, लाइसेन्समा प्वाल पार्छ र जनचेतामुलक कक्षामा पनि सहभागी गराउँछ ।

तर, पनि नेपालीले जाड खाएर सवारी चलाउनु हुँदैन भन्ने पाठ भने अझै पनि सिकेका छैनन् । महानगरीय ट्राफिक महाशाखाको तथ्याक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म १० महिना अवधिमा २६ हजार ५ सय ९८ सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा पक्राउ परे ।
त्यसमध्ये १७ हजार ९ सय ५२ वटा लाइसेन्समा प्वाल पारिसकिएको छ । महाशाखाका अनुसार यस वर्ष १० महिनामा कूल ३ लाख ८४ हजार २ सय ६ जना चालक विभिन्न कसुरमा कारवाहीमा परेका छन् । त्यसमा ठूलो हिस्सा मापसेको छ ।

मापसे गरेर सवारी चलाउने २६ हजार ५ सय ९८ सवारी चालकमध्ये १ सय ९ जना महिला छन् । यस अवधिमा महाशाखाले २८ जना जड्याहा चालकको लाइसेन्सनै निलम्बन गरेको छ ।

किनकी लाइसेन्समा ५ पटक भन्दा बढी प्वाल पारिसकेको अवस्थामा पनि सवारी चालक मापसे गरेको अवस्थामा पक्राउ पर्यो भने उसको सवारी चालक अनुमत्रि पत्र निलम्बन हुन्छ ।

यस अवधिमा लेन अनुशासन उल्लंघन गर्ने ३३ हजार ३ सय ७७ चालक प्रहरीको कारवाहीमा परेका छन् । त्यसमध्ये १ हजार ३ सय ५० जना महिला छन् । हर्न कारवाहीमा १२ हजार २ सय ७१ चालक कारवाहीमा परेको महाखाशाले उल्लेख गरेको छ ।

मिटरमा जान नमान्ने १० हजार ७ सय ८७ ट्याक्सी चालक पनि पुलिसको कारवाहीमा परेका छन् । प्रहरीले पछिल्लो समय सीसीटिभिको माध्यमबाट पनि चालकलाई कारवाही प्रक्रिया थालेको छ ।

यसअवधिमा ५ हजार ६० जना चालक सीसीटिभिका माध्यमबाट कारवाहीमा परेका छन् । १० महिना अवधिका २५ करोड ३७ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको महाशाखाको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here