विवाहको लगनले बढायो सुनको व्यापार, दैनिक २० केजीसम्म कारोबार

जितेन्द्र खनाल

काठमाडौं १८ मंसिर । कारोना संक्रमण बढेसँगै ठप्प जस्तै बनेको सुनको कारोबार मंसिर महिना विवाहको लगनसँगै बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै सुनसान बनेको काठमाडौंको न्यूरोडमा सुन किन्ने मानिसहरुको भिड देखिन थालेको छ ।

कोरोना संक्रमणले आर्थिक गतिविधि शून्यप्राय हुँदा, बजार सुस्त बन्दा र दुईछाक खानलाई नै कतिपय सर्वसाधारणलाई धौ-धौं पर्दा सुनचाँदीका गरगहना खरीद गर्नेहरु समेत निरुत्साहित भए ।

आर्थिक गतिविधि सुस्त हुँदा र मानिसको जनजिविकाको सवाल प्राथमिक बनेर आउँदा सुनचाँदीको गरगहना खरीद गर्नेहरु पनि घटे, जसका कारण सुनचाँदी व्यवसाय शून्यमै रहेको थियो ।

कोभिडका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा धेरै समय सुनको मूल्यले रेकर्ड बनाएर तोलाको १ लाख रुपैयाँ नै नाघेको थियो ।

तत्कालको प्राथमिकता आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्नेमै केन्द्रित मानिसमा महंगो रहेको सुनका गरगहनाप्रति इच्छा, आकांक्षा नै हराएपनि विवाहको लागि भने नेपाली परम्परा बध्यता नै बनेको छ ।

कोरोना भाइरस विरुद्धको खोप निर्माणले गति लिनुका साथै बैशाखमा कोरोना संक्रमणको कारण विवाह सम्भव नभएको र आउँदो फागुन महिनामा पनि लगन नभएको कारण मंसिर महिनामा नै विवाह गर्ने मानिसको संख्या धेरै रहेको कारण सुन व्यापारले गति लिएको कुरा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश प्रसाद लकान्द्री बताउँछन् ।

‘विवाहको समय आएको यसमा सुनको कारोबार त अवश्य नै बढ्ने भयो । यसका साथै कोरोना संक्रमणको खोप निर्माणले गति लिएको कारण सुनको व्यापारले गति लिएको हो लकान्द्रीले क्लाउड पत्रिकासँग भने ।

दैनिक २० केजीसम्म कारोबार

मंसिर महिनामा सुनको कारोबार ह्वात्तै बढ्दै दैनिक २० केजीसम्म कारोबार हुने गरेको कुरा अध्यक्ष लकान्द्री बताउँछन् । यसका साथै दैनिक २५ केजीसम्म कारोबार गर्न सकिने व्यवस्था सरकार गर्नुपर्ने माग समेत लकान्द्रीको छ ।

‘सुनको व्यापारले अब गति लिन थालेको छ । तिहारपछि नै सुनको व्यापार बढ्न थालेपनि मंसिर महिनामा भने दैनिक १५ देखि २० केजीसम्मको सुनको कारोबार भईरहेको छ ।’ लकान्द्रीले भने, ‘अब दैनिक २५ केजीसम्म सुनको कारोबार गर्नसक्ने व्यवस्था सरकारले मिलाउनुपर्छ ।’

यस्तो भन्छन् व्यापारी

कोरोना संक्रमणको कारण झण्डै १० महिनादेखि ठप्प भएको सुनको व्यापार बढ्न थालेपछि व्यापारीहरुमा खुसी फर्किएको हो । कोरोना संक्रमणको समयपछि सबैभन्दा धेरै सुनको कारोबार मंसिर महिनामा नै भएको कुरा कालिमाटीका सौभाग्य सुनचाँदी गहना पसलका रमेश महर्जन बताउँछन् ।

‘कोरेना संक्रमणको समयपछि सबैभन्दा धेरै सुनचाँदीको कारोबार भएको भनेको यही मंसिर महिनामा नै हो ।’ उनले भने, ‘विवाहको सिजन भएको कारण सुन किन्नेको संख्या बढेको हो, लगन सकिएसंगै कारोबार पनि घट्छ ।’

त्यस्तै, न्यूरोड स्थित अर्जुन ज्वेलर्सका अर्जुन शाह पनि मंसिर महिनामा सुनको कारोबारले गति लिएको कुरा बताउँछन् । ‘यो वर्षको सबैभन्दा धेरै लगन भएको महिना भएको कारण पनि होला कोरोनाको त्रास भएपनि सुनको व्यापार बढेको छ,अर्जुन शाहले भने ।’

पछिल्लो समय कोभिडको कारण व्यापार ठप्प भएपनि सामान्य अवस्थमा नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार नेपालमा वार्षिक ६० अर्ब रुपैयाँसम्मको सुनको कारोबार हुने गरेको छ । यता अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न भ्याक्सिनको खोजी गरिरहेका छन् ।

यदि कोभिड १९ को भ्याक्सिन आयो भने अन्तर्राष्ट्रिय बजारमा अस्वभाविकरुपमा बढेको सुनको मूल्य घट्ने अनुमान व्यवसायीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here