चार महिनामा ४६ हजार निजी आवास पुनर्निर्माण, ११० जना लाभग्राही थपिए

काठमाडौं, २० मंसिर । भूकम्पबाट क्षति भएकामध्ये ६ लाखभन्दा बढि निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ७ हजार ६२३ घर निर्माण सम्पन्न भएको हो ।

७ लाख १० हजार २६८ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त भएको छ ।

चार महिनाको अवधिमा छ हजार ६०० पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने पाँच हजार ११४ ले तेस्रो किस्ता लिएका छन् । यसै अवधिमा थप ६८५ प्रवलीकरण लाभग्राहीले सम्झौता गरेका छन् । जसमध्ये ४५० ले पहिलो किस्ता बराबर ५० हजार रुपैयाँ बुझेका छन् ।

यो अवधिमा ११० जना लाभग्राही थपिएका छन् । पहिले नै लाभग्राही कायम भएकासमेत गरी एक हजार ३५० ले अनुदानका लागि सम्झौता गरेका छन् ।

हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ ।

तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ । हालसम्म ५०० भन्दाबढी सम्पदा पुनर्निर्माण भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here