यस्तो छ पाँच मन्त्रालयको चौमासिक प्रगति, पानी जहाज कार्यालय सबैभन्दा पछि

काठमाडौं, २२ मंसिर । मन्त्रालयहरूको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक मंगलबार देखि शुरु भएको छ ।

उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत विवरणमा खेलकुद मन्त्रालय सबैभन्दा अघि, पानी जहाज कार्यालय सबैभन्दा पछि परेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जा तर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिंचाई तर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गरेका थिए ।

त्यस्तै भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पुरा भएको सचिव रविन्द्र नाथ श्रेष्ठले प्रस्तुत गरे ।

जस अनुसार सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ ।

त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति, युवा तथा खेलकुद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत प्रतिशत रहेको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेल, सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठक मंसिर २६ गतेसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here