स्वयम्भूस्थित हजार मूर्ति स्तुपा नभत्काइने

काठमाण्डौ २३ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारका लागि स्वयम्भूस्थित भगवान बुद्धको हजार मूर्ति स्तुपा नभत्काइने बताएका छन् ।

मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उनले तपस्यास्थललाई जोगाइने वचन दिएका हुन् ।

सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवन बुद्धको हजार मूर्ति स्तुपा जोगाउनु पर्छ भन्नेमा आफू प्रष्ट भएको समेत बताए ।

‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनु पर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाईने छ,’ उनले भने ।

मुलुकको विविध धर्म, विविध समुदाय विविध, सस्कृतीको रक्षा मात्र होइन, तिनको नयाँ चरणमा विकास गर्न पनि सरकार लागि परेको उनले दाबी गरे ।

सडक विस्तार गरिदा यसका प्राविधि पक्ष, धार्मिक पक्ष, विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिइने बताए ।

समुदायको भावना र संवदेनशिलतासँग जोडिएको विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्व विभाग, महानगरपालिकासंग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको पनि मन्त्री नेम्बाङले बताए ।

त्यस्तै स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताएका थिए ।

काठमाण्डौ चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोविखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here