प्रधानमन्त्रीसँग निजी क्षेत्रको गुनासो : चन्दा आतंक बढ्यो, यसतर्फ ध्यान जाओस्

काठमाडौं, २५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक भेटवार्ता गरेका हुन् । भेटमा उद्योगी व्यवसायीले केही समययता चन्दा आतंक र उद्योग बन्द गराउने कार्य बढेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको जानकारी गराए ।

अध्यक्ष गोल्छाले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतङक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव राखे ।

बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रम(कोभिड रिकोभरी) को आवश्यकता माथि जोड समेत दिए ।

सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडी सारेको कार्य योजनाको स्वागत गर्दै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधै तयार रहेको विश्वास दिलाए ।

‘तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस्, के सहयोग गर्नुपर्छ म आफै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ’, प्रधानमन्त्रीले भने । साथै, प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए । साथै, उनले स्वदेशी उत्पादनको प्रवद्र्धनमा लाग्न समेत आग्रह गरे ।

भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here