वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर: मन्त्री राय

काठमाडौं, ३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मक रूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा शुक्रबार शुभकामना दिँदै उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लागि निरन्तर अगाडि बढिरहेको बताएका छन् ।

नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भइसकेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरु उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हक, अधिकार रक्षाका लागि श्रम ऐन, २०७५ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए ।सीपयुक्त जनशक्तिको विकासका लागिसमेत तदारुकताका साथ गृहकार्य अगाडि बढाइएको मन्त्री रायको भनाइ छ ।

आप्रवासीमाथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघबाट डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित भएको थियो ।

संयुक्त राष्ट्रसंद्धको महासभाले सन् २००० डिसेम्बर ४ मा डिसेम्बर १८ का दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै नेपालले पनि डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here