प्रदेशमा चुनाव हारेकालाई मन्त्रीको कुर्सी, मन्त्रालयमा पनि व्यापक हेरफेर

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथै वहालवाला मन्त्रीहरुको मन्त्रालयमा पनि व्यापक हेरफेर गरेका छन्।

संसद भंग गरी संविधानलाई समेत कुल्चेर अगाडी बढेका उनले आज मन्त्रिपरिषद् बिस्तार र मन्त्रीहरु थप गरेका छन् । उनले प्रदेशसभा निर्वाचनमा हारेका पूर्वमाओवादीका नेतालाई संघीय मन्त्रालय सुम्पिदिएका छन् ।

उनले सिन्धुपाल्चोकका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिए । उनी प्रदेश सभामा सिन्धुपाल्चोकमा हारेका नेता हुन् ।

प्रचण्ड समुहका उनलाई ओलीले मन्त्री पद दिएर आकर्षित गरेका छन् । सिन्धुपाल्चोककै पूर्वएमाले नेता शेरबहादुर तामांगले प्रचण्डलाई साथ दिएपछि ओलीले लामालाई लाभको पद दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९ जना नयाँ नेतालाई मन्त्री पद दिए ।

दुई जनाको मन्त्री पद भने गुमेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्य मन्त्री मोती दुगडको पद गएको हो । शुक्रबार हतार हतारमा भएको मन्त्रिपरिषद बिस्तारमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपिए ।

थप र जिम्मेवारी हेरफेर भएका मन्त्री
टोपबहादुर रायमाझी : उर्जा
मणि थापा : खानेपानी
प्रभु साह : शहरी विकास
प्रेम आले : वन
गणेश ठगुन्ना : सामान्य प्रशासन
गौरी शंकर चौधरी : श्रम
दावा लामा : युवा तथा खेलकुद
जुली कुमारी महतो : महिला बालबालिका
विमला विश्वकर्मा : उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल : पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी : स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ : कानून
शिवमाया तुम्बाहाङ्फे : भूमिसुधार (मन्त्रालय हेरफेर)
पद्मा अर्याल : कृषि (मन्त्रालय हेरफेर)
कृष्ण गोपाल श्रेष्ठ : शिक्षा

अहिलेसम्म त्रिपाठी सामान्य प्रशासन मन्त्री थिए भने श्रेष्ठ शहरी विकास, ढकाल स्वास्थ्य, अर्याल भूमिसुधार, तुम्बाहाङफे कानुन र लिलानाथ महिला बालबालिका मन्त्रालयमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here