नेपाली महिला उद्यम क्षेत्रमा आकर्षित, सहुलियत ऋण लिने तीन गुणा बढे

काठमाडौंं, १२ पुस । चालु आर्थिक बर्ष २०७७/७८ को कात्तिक महिनासम्ममा १६ हजार ५२ जना उद्यमी महिलाले सहुलियत ऋण लिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा यो संख्या १० हजारले बढि हो । गत वर्ष यसै अवधिमा सहुलियत ऋण लिने महिलाको संख्या ६ हजार ६ सय ८२ थियो ।

सरकारले ब्याज अनुदान दिने नौ प्रकारका कर्जामध्ये कृषिबाहेक सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् । यो तथ्याङकले विभिन्न बाधाहरू भए पनि पछिल्लो समय धेरै नेपाली महिलाहरू उद्यम क्षेत्रमा आकर्षित भएको देखाउँछ ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । असार मसान्तसम्म ४ अर्ब ३५ करोड ऋण प्रवाह गरेका थिए । गत असारसम्म बैंकहरूले यस्तो कर्जा ५१ करोड २२ लाख रुपैयाँ प्रवाह गरेका थिए ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो ।

महिलाहरुलाई उद्यमी बनाउन सरकारले सहुलियत ऋण कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम अन्र्तगत महिलाले ५ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास,उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा र भुकम्प पीडितको निजी आवास निर्माण कर्जा सहित सात किसिमका कर्जाका लागि सहुलियतपूर्ण कर्जा वितरण गर्दे आएको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कुल ४६ हजार ३ सय ४३ ऋणीले सहुलियतपूर्ण ऋण प्राप्त गरेका छन् । यो कृषिलगायत विभिन्न नौ प्रकारका कर्जा कार्यक्रमअन्तर्गत नागरिकले लिएको सहुलियत दरको ऋण हो ।

गत असारसम्म ३२ हजार ४ सय ८४ जनाले यस्तो कर्जा सुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा लिने १८ हजार ३ सय जना मात्र थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here