१० प्रतिशतभन्दा बढी कल डिपोजिट राख्न नपाइने

काठमाडौं ९, चैत । वाणिज्य बैंकले कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट राख्न नपाउने भएका छन् । बैंकहरुले २०७७ असारभित्र कल डिपोजिट उक्त सीमाभित्र ल्याइसक्नु पर्नेछ । राष्ट्र बैंकले बिहीबार यस्तो निर्देशन दिएको हो ।

यस्तै, विकास बैंक र फाइनान्स कम्पनीले कुल निक्षेपको १५ प्रतिशतभन्दा बढी कल डिपोजिट राख्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकमा कल निक्षेपको सीमा १० प्रतिशत कायम गर्ने घोषणा गरेको थियो । यो सँगै अहिले विकास बैंक र फाइनान्स कम्पनीमा पनि कल निक्षेपको सीमा लगाएको हो ।

‘कल डिपोजिट’ मुद्दती, चल्ती र साधारण बचतजस्तै एक किसिमको निक्षेप खाता हो । यो खातामा कम समया अवधिका लागि निक्षेप राखिन्छ । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार हाल केही बैंकहरुमा कल डिपोजिटको अंश कुल निक्षेपको २७ प्रतिशतसम्म छ । यो व्यवस्थाले बैंकहरुमा नक्कली निक्षेप निरुत्साहित हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here