नेपालको अर्थतन्त्रको विस्तार न्यून, वृद्धिदर ०.६ प्रतिशतमा खुम्चिने

काठमाडौं, २२ पुस । चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने भएको छ ।

विश्व बैंकले प्रकाशन गरेको ‘ग्लोबल इकोनोमी प्रोस्पेक्ट्स’ रिपोर्टले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको हो ।

पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले नेपालको आर्थिक वृद्धिदर सामान्य रहनेछ । प्रक्षेपण अनुसार सन् २०२१/२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत पुग्नेछ ।

विश्व बैंकको प्रक्षेपण अनुसार समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ३.३ प्रतिशत रहनेछ । प्रक्षेपण सही ठहरिएमा दशकौं पछि नेपालमा लगातार तीन आर्थिक वर्षमा आर्थिक वृद्धिदर न्यून हुनेछ ।

यसले अर्थतन्त्रको उत्पादक क्षमतामा विस्तार नहुने, नयाँ र थप रोजगारी सिर्जना नहुने वा मानिसको आयआर्जन शिथिल रहने संकेत गर्छ । आर्थिक वर्ष २०७३/ ७४ पछिका तीन आर्थिक वर्षमा नेपालले लगातार औसतमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो ।

विश्व बैंकका अनुसार दक्षिण एसियाली क्षेत्रमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आर्थिक वर्ष भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने उसको प्रक्षेपण छ ।

बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्याङ्क विश्व बैंकको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर भने माल्दिभ्सले हासिल गर्नेछ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने भएको छ ।

पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here