चुनाव रद्द हुनुपर्ने माग गर्दै ट्रम्पका समर्थकले हिंसा मच्चाएपछि वासिङ्टनमा कर्फ्यू

काठमाडौं, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङभित्र पसेर प्रदर्शन गरेका छन् । ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका हुन् ।

अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् ।

अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम अघि हिंसात्मक प्रदर्शन भएको हो । राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

अमेरिकी कांग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला प्रदर्शन भएको बीबीसीले जनाएको छ ।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र छिरेका थिए । त्यसपछि बहस नै रोक्नु परेको थियो । ट्रम्पका समर्थकहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

केही ठाँउमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । स्थिति बिग्रँदै गएपछि क्यापिटल हिल्समा नेसनल गार्ड परिचालन गरिएको छ ।

क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । पाँच थान बन्दुक पनि बरामद भएको छ । झडपमा परी एक महिलाको मृत्यु भएको छ ।

क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको प्रदर्शनको निन्दा गरेका छन् ।

त्यस्तै ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here